आज खण्डग्रास सुर्यग्रहण, यस्तो हुनेछ राशिअनुसारको प्रभाव
७ असार, २०७७ काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । बिहान १० बजेर ५४ मिनेटदेखि शुरु हुने ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य र दिउँसो २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्ने छ ।
खगोलीय मान्यता अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेर चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्छ ।
काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा १० बजेर ५६ मिनेट र भद्रपुर झापामा ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
समितिकाका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण देख्न सकिन्छ ।
यस्तो हुनेछ राशिअनुसारको प्रभाव
सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया