कोरियामा भिसा अवधि सकिएका २३६ जना नेपाली आज स्वदेश फर्कँदै
६ असार, २०७७ काठमाडौं । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना आज कोरियाबाट नेपाल फर्किदै छन् ।
नेपाली दूतावास सोलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान नेपाल आउन लागेको हो ।
नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञा अवधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको दूतावासले जनाएको छ ।
तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिनुभयो ।
यात्रुले टिकटबापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसअघि नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडौंबाट कोरिया र कोरियाबाट काठमाण्डौ उडाउने भनिए पनि कोरिया सरकारका नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ ।
प्रतिक्रिया