Main News

साउदीबाट १५४ र युएईबाट १४८ जना नेपाली काठमाडौं आइपुगे

हिमालय टिभी
२०७७ असार ५ गते १२:१६
साउदीबाट १५४ र युएईबाट १४८ जना नेपाली काठमाडौं आइपुगे

५ असार, २०७७ काठमाडौं । साउदीको दमाम र संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका नेपाली काठमाडौं आइपुगेका छन् । साउदीबाट १५४ जना र युएईबाट १ सय ४८ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पहिलो उडान भएको हो ।

साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ जना प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले असार ७ गते उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । यस्तै आजै माल्दिभ्सबाट पनि १५० जना र कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।

त्यसैगरी संयुक्त अरब एमिरेट्स यूएईकोबाट आज १ सय ४८ जना नेपालीको उद्धार गरिएको छ ।

नेपाल एयरलाइन्सले एक सय ४८ जनालाई लिएर काठमाडौका आएको हो । आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किएका मध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईस्थित नेपाली दूतावासलाई उदृत गर्दै हाम्रा सहकर्मी रुपेश अधिकारीले जनाएका छन् ।

१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किएकामध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।

विमानमा एक जनाको शव पनि छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका थिए । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोरोना परीक्षण गरिएको थियो । यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *