Main News

प्रदेश १ बाट एकैदिन ४० जना कोरोनामुक्त भएर डिस्चार्ज

हिमालय टिभी
२०७७ असार ४ गते १५:००
प्रदेश १ बाट एकैदिन ४० जना कोरोनामुक्त भएर डिस्चार्ज

४ असार, २०७७, विराटनगर । प्रदेश १ को एक अस्पतालबाट आज एकै दिन ४० कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट ३९ जना डिस्चार्ज भएका हुन् । झापा, मोरङ, सुनसरी र भोजपुरका उनीहरुको पुनःस्वाब परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएपछि डिस्चार्ज भएको अस्पतालका डिन डा शैलेशमणि पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालबाट घर पठाइने व्यक्तिले १४ दिनको होम क्वारेन्टाइन अवधि पूरा गरेका हुन् । प्रदेश १ सरकार र पूर्वाञ्चल विश्वविद्यालयको सम्झौताअनुसार गोठगाउँँमा लक्षणविहीन कोरोना संक्रमितलाई उपचार केन्द्रमा राखेर उपचार हुँदै आएको छ ।

गोठगाउँमा झापाका ४४, मोरङका २३, सुनसरीका ३७, भोजपुरका ५, उदयपुरका ४, ताप्लेजुङका एक, इलामका दुई, पाँचथरका एक र भारतका एक गरी जम्मा ११८ संक्रमित भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको उपचार पूर्वाञ्चल विश्वविद्यालय मोडिकल कलेज गोठगाउँ, कोसी अस्पताल विराटनगर र बीपी प्रतिष्ठान धरानमा गर्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश १ मा अस्पतालमा पुनः स्वाब परीक्षण गरेर मात्र कोरोना संक्रमितलाई अस्पतालबाट घर पठाउने नीति लिइएको छ । प्रदेश १ का संक्रमितको संख्या ४ सय १६ रहेकोमा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा २९ जना, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ८५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना संक्रमितहरु उपचाररत रहेको जनाइएको छ ।अहिलेसम्म निको भएर घर जानेको संख्या भने १ सय ५४ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *