यूएईबाट नेपाल आएका दुई जनामा देखियो कोरोना संक्रमण पुष्टि
३ असार, २०७७, भक्तपुर । युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा एक जना महिला र एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
संक्रमित महिलालाई आज बिहान साढे २ बजे भक्तपुर अस्पतालमा र पुरुषलाई मंगलबार राती नै टेकु अस्पताल लगिएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।
संक्रमित दुवै जना जेठ २३ गते यूएईबाट नेपाल आएका थिए । २९ वर्षिय पुरुषको स्थायी ठेगाना मोरङ र २६ वर्षीया महिलाको स्थायी ठेगाना रुपन्देही रहेको छ ।
कोरोना पोजेटिभ देखिएका दुवै जना चाँगुनारायण नगरपालिका– ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसेका थिए । उनीहरुसहित १३ जनाको स्वाव परिक्षण गरिएको थियो ।
यसैगरी, कुवेतबाट जेठ ३० गते नेपाल आएकी एक महिलामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नवलपरासीकी उनमा आइतबार कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
प्रतिक्रिया