युएईबाट नेपालीको उद्धारका लागि आज र पर्सीका लागि तय चार्टर्ड उडान रद्द

२ असार, २०७७ काठमाडौं । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज र पर्सी हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।
नेपाली दूतावास आबुधाबीले हिजो सूचना जारी गर्दै आज र पर्सीको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो ।
दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ । उडान रद्धबारेको सूचना आइतबारै दूतावासले दुतावासको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो ।
तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाएको छ । अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।
नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ । तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।
सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका थिए। आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया