आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोरविजोर प्रणाली लागू

१ असार, २०७७ काठमाडौं । आजदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल तथा स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
यस अघी मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जनाएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो ।
यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो । गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालक मात्रै यात्रा गर्न पाउनेछन् ।
प्रतिक्रिया