Main News

आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पढाइँदै

हिमालय टिभी
२०७७ असार १ गते ७:३३
आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पढाइँदै

१ असार, २०७७ काठमाडौं । सरकारले आजदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ।

टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।

कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र सरकारी विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पठनपाठन गर्न लागिएको हो।

विद्यार्थीलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाललगायत एफएमबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्नेछन्।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार समय निर्धारण गरेर टिभी, रेडियोबाट पठनपाठनको व्यवस्था मिलाइएको छ। कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको दाहालले जानकारी दिनुभयो ।

आज देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउने तयारी गरिएको छ । कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा आजदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुने छ । माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *