विद्यालय नखुलेसम्म इन्टरनेटमा कुनै शुल्क नलिन सरकारसँग नेविसंघको माग
३२ जेठ, २०७७ काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन सरकारसँग माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो ।
सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोनजस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठन सुरु गर्न र इन्टरनेटलगायतका सबै प्रविधिको निःशुल्क व्यवस्था गर्न उसको माग छ ।
नेविसंघले पुस्तक आयातमा लगाइएको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ ।
सरकारी विद्यालयहरुमा क्वारन्टिन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघको ठहर छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताउनुभयो ।
प्रतिक्रिया