Main News

गुल्मीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

हिमालय टिभी
२०७७ जेठ ३२ गते ९:१७
गुल्मीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

३२ जेठ, २०७७, गुल्मी । गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिनुभयो ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो ।

उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो ।

जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन् । अझै विभिन्न क्वारेन्टिनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एकएक सङ्क्रमित छन् । उनीहरुको सामान्यावस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *