Main News

नक्सा पास गर्ने सन्दर्भमा दलहरुबीच देखियो अभूतपूर्व एकता (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३१ गते २०:३२
नक्सा पास गर्ने सन्दर्भमा दलहरुबीच देखियो अभूतपूर्व एकता (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । नयाँ नक्सालाई संविधानमा समेट्ने क्रममा दलहरुबीच अभुतपूर्व एकता देखियो । यो एकता संसदमा मात्र हैन सडकमा पनि देखियो । यसले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमाथिको आलोचना कम भएको छ । तर अब सरकारमाथि अर्को चुनौति थपिएको छ ।

नेपालको निसान छाप परिवर्तन गर्ने गरी संसदमा संविधान संशोधन प्रस्ताव पारित हुँदाको यो दृश्य हेर्नुहोस् । के सत्तापक्ष के विपक्षी । सबै खुसी छन् । सधैँ सरकारको आलोचना गर्ने विपक्षीले नयाँ नक्सा सार्वजनिक गर्ने र त्यसलाई संविधानको अंग बनाउने क्रममा सरकारसँगै हातेमालो गरे ।

संसदबाट संविधान संशोधन पारित हुनुअघि काठमाडौंको माइतीघरमा देखिएको हो यो दृश्य । कोरोना कहरबाट नागरिकलाई जोगाउन खासै पहल नगरेको भन्दै सरकारको विरोधमा उत्रिएका यी युवा । नयाँ नक्सालाई समेट्ने गरेर संविधान संशोधन गर्ने सरकारको कदमप्रति खुसी छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूमि नेपाली नक्सामा समावेश गरेकोमा उनीहरुलाई सरकारमाथि गौरव लागेको छ ।

सदन र सडकमा देखिएका यी दृश्यले संविधान संशोधन गरेर सरकारले राम्रो काम गरेको पुष्टि गर्छन् । र सरकारको सकरात्मक काममा सबै सँगै हुन्छन् भन्ने प्रमाणित पनि । यो खुसी र समर्थनले अब नक्सामात्र हैन भूमि पनि ल्याउनु पर्छ भनेर सरकारलाई भनिरहेको छ । अहिले भारतको कब्जामा रहेका नाबी कुटी र गुञ्जी गाउँमा सरकारको उपस्थिति हुने छ र त्यहाँ नेपालको झण्डा फहराइने छ भन्ने आशा जनजनमा पलाएको छ ।

साहसका साथ नक्सालाई संविधानमा समेट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ गएर लिम्पियाधुरामा नेपालको झण्डा गाड्नु हुने छ भन्ने विश्वास ३ करोड नेपालीलाई छ । सरकारले जसरी प्रमाण खोज्ने र नयाँ नक्सा सार्वजिनक गर्ने काम साहसका साथ गरेको छ । त्यस्तै साहसका साथ भारतसँग वार्ता गर्नु पर्छ । उसलाई अथेस्ट प्रमाण देखाउनु पर्छ र उसलाई मनाएर मात्र मात्र लिम्पियाधुरामा नेपालको झण्डा फहराउन सकिन्छ ।

भारतसँग वार्तामा बस्ने र ती गाउँ फिर्ता लिने काममा ढिलाई भयो भने यो नक्सा सार्वजनिक गर्नु र संविधान संशोधन गर्नुको कुनै अर्थ हुँदैन । र ती भूमिमा नेपालको झण्ड फहराउन नसकेको स्थितिमा सडक र सदनको साथ सरकारलाई हुँदैन ।
संविधान संशोधन हुँदै गर्दा विपक्षी दलले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आफूले घोषणा गरेका काम र नगरिकले अपेक्षा गरेका काम पूरा गर्न नसके फेरि सरकारमाथि आलोचना हुन थाल्ने छ । प्रधानमन्त्री केपी ओलीले नै नक्सा जारी गर्नु ठुलो काम होइन मुख्य त भूमि फिर्ता ल्याउनु हो भनेर पटक पटक भन्दै आउनुभएको छ । यस्तो स्थितिमा अब सरकारले भारतलाई वार्ताको टेबलमा ल्याउन हरसम्भव प्रयास गर्नुपर्छ । र तथ्य र प्रमाण अगाडी राखेर नेपाली भूमि फिर्ता गराउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *