Main News

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

हिमालय टिभी
२०७७ जेठ ३१ गते १८:०५
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई तिहाईभन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाईभन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।

संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराईएको थियो ।

प्रतिनिधिसभाको नियमावलियको नियम १ सय ३७ को उपनियम ९ मा “संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ । ”

त्यसैगरी उपनियमा १० “संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि सभाको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजन द्धारा हुनेछ ।”

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराईएको थियो । यसअघि सनिबार नै विधेयकमाथि दफाबार छलफल गरिएको थियो ।

सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो ।

बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरि बाहिरिनुभएको थियो ।

बैठकमा अनुपस्थितहरु
शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम, दुलारीदेवी खत्वेनी, धन बहादुर बुढा, नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित हुनुहुन्थ्यो ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।

सरिता गिरी बैठक बहिष्कार गरेर बाहिर निस्कनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *