Political Hightlights

राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छः अध्यक्ष यादव (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३१ गते १६:१३
राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छः अध्यक्ष यादव (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामू माफी माग्नुपर्ने बताउनुभएको छ ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

उहाँले महाकाली सन्धी गर्दा मुहानको टुंगो किन लगाएन भन्दै प्रश्नसमेत गर्नुभयो । नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उहाँले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनलाई हुनुपर्ने बताउनुभयो ।

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उहाँले सन् १९६५ मा पनि सन्धी भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उहाँले बताउनुभयो ।

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उहाँले बताउनुभयो । नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्