Political Hightlights

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न सांसद राजेन्द्र महतोको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३१ गते १६:०८
मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न सांसद राजेन्द्र महतोको आग्रह (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गर्नुभएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै उहाँले अनुहार हेरेर राष्ट्र«घाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गर्नुभएको हो । प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सीमाको रक्षा गर्दै आएको उल्लेख गर्दै उहाँले आफुहरुमाथि शंकाको दृष्टिले नहेर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो बारेमा त अनुहार हेर्ने बित्तिकै यो त मधेसी , यो त विदेशी नै होला । यो त भारतीय नै होला भन्ने कुण्ठाबाट भरिएका नश्लीय चिन्तन बोकेकाहरु छन् । आजबाट त्यो हटाईदिउँ । प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सीमाको रक्षा गरेको छ । तपाईले विभेद र अन्याय गरे पनि विभिन्न प्रकारले पीडा पुराए पनि आफ्नो सीमा रक्षाका लागि लडेको छ । मरेको छ । ”

राष्ट्रवादको सवालमा मधेसी जनतालाई पटक पटक अग्नि परीक्षा लिने गरिएको भन्दै उहाँले आफुहरुको राष्ट्रवादप्रति औलो उठाउने काम नगर्न पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “यो खोक्रो राष्ट्रवादी कुरा होइन । यो राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्छ नेपाली जनताको बीचमा । को को राष्ट्रघाती हो ? को को राष्ट्रवादी हो ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? यो देशको मधेसी जनतालाई त्यसरी औंला ठड्याउने काम कसैले नगरोस् । राष्ट्रवादको मामलामा कतिचोटी अग्निपरीक्षा दिने हो ? कति चोटी प्रमाण दिने हो ? यस्तो अग्नि परीक्षा नलिनुहोस् । सम्पूर्ण नेपाली जनतालाई यो रोष्टमबाट भन्न चाहन्छु, यस्तो अग्नि परीक्षा नलिनुहोस् । त्यो मधेसी जनताप्रति अन्याय नगर्नुहोस् । यो देशको आदीवासी, थारु र दलितमाथि अन्याय नगर्नुहोस् । ”

उहाँले राष्ट्रघाती र राष्ट्रवादीबारे स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । महाकाली सन्धि गर्दा गल्ती भएको भन्दै उहाँले त्यसको पहिचान गरी कारवाही गर्न माग गर्नुभयो ।

नेपालको भूमि फिर्ता गर्ने सम्बन्धी संशोधन प्रस्तावमाथिको छलफल भएकाले संसदको बैठक अति नै महत्वपूर्ण भएको भन्दै उहाँले भूमिलाई मात्रै नभई जनताको भावनालाई पनि राष्ट्रियताको रुपमा बुझिदिन आग्रह गर्नुभयो । जनताको भावना, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डतासंग जोडिएको सवाल भएकाले संविधानप्रति असन्तुष्ठी भएपनि आफुहरुले संशोधन विधेयकमा पुर्ण समर्थन गरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्