Main News

सरिता गिरीको संशोधन सभामुखबाट अस्वीकृत, गिरी बैठकबाट बाहिरिइन् (LIVE)

हिमालय टिभी
२०७७ जेठ ३१ गते १४:०९
सरिता गिरीको संशोधन सभामुखबाट अस्वीकृत, गिरी बैठकबाट बाहिरिइन् (LIVE)

३१ जेठ, २०७७ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराउनुभएको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय १२ मा उल्लेख भएका संशोधन सम्बन्धी सर्त पुरा नभएकाले संशोधन सूचनालाई अस्वीकृत गरिएको जानकारी गराउनुभएको हो । संविधानको दोश्रो संशोधन विधेयकमाथि दफाबार छलफल गरियोस् भनी कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले राख्नुभएको प्रस्तावलाई बैठके सर्वसम्मतिले स्वीकृत गरेपछि सभामुखले दफावार छलफलमा सहभागी हुन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई रोष्टममा बोलाएपछि सांसद गिरीले उठेर ध्यानाकर्षण गराउनुभएको थियो ।

लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम १ सय १२ को १ मा उल्लेख भए बमोजिम संशोधनसम्बन्धी नियम पालना नभएकाले सो प्रस्ताव अस्वीकृत गरेको जानकारी गराएपछि सांसद गिरी बैठक कक्षबाट बाहिरिनुभएको थियो ।

नियम १ सय १२ को १ मा “विधेयकको विषयसँग सम्बद्ध हुनुपर्ने, विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने, अस्पष्ट वा निरर्थक हुन नहुने, जुन दफामा संशेधन गर्न खोजिएको हो सोही दफाके विषय सम्बद्ध हुनपर्ने, सभाद्धारा पूर्व स्वीकृत सिद्धान्त वा निर्णयको विपरीत हुन नहुने र विधेयकको कुन दफाको कुन व्यवस्था वा शब्दावली राख्न खोजिएको हो भन्ने कुरा स्पष्ट खुलाएको हुनुपर्ने उल्लेख छ । ”

नियम १ सय १२ को २ ले सभामुखलाई यही नियमको अधिनमा रहेर संशोधन स्वीकृत गर्ने, अस्वीृकत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एक भन्दा बढी संशोधन एकीकृत गरी स्वीकृत गर्ने अधिकार दिएको छ ।

सभामुखले नियम १ सय १२ को २ बमोजिमको अधिकार प्रयोग गरि सांसद गिरीको प्रस्तावलाई अस्वीकृत गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *