Political Hightlights

समाजवादी पार्टीद्वारा संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी

हिमालय टिभी
२०७७ जेठ ३१ गते १३:५१
समाजवादी पार्टीद्वारा संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी

३१ जेठ, २०७७ काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो । आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उहाँले बताउनुभयो ।

बैठकले सांसद सरिता गिरीले संसदमा पेश गर्नुभएको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ । यसअघि नै पार्टीले फिर्ता लिन भनेको र संसदीय दलको बैठकले समेत आज निर्देशन दिएकाले गिरीले आफ्नो प्रस्ताव फिर्ता लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । अहिले सबैले राष्ट्रियताको पक्षमा एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता भएको र त्यही अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन् । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडी बढाएको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सांसद गिरीले संशोधन हाल्नुभएको छ । पार्टीले यसअघि नै फिर्ता लिन निर्देशन दिएपनि उहाँले फिर्ता लिनुभएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्