Main News

कतारबाट नेपाल फर्कने ५ हजार १ सय १२ जना नेपालीको पहिलो सूची सार्वजनिक

हिमालय टिभी
२०७७ जेठ ३१ गते १३:०१
कतारबाट नेपाल फर्कने ५ हजार १ सय १२ जना नेपालीको पहिलो सूची सार्वजनिक

३१ जेठ, २०७७ काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची सार्वजनिक भएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिकालाई प्राथमिकतामा राखिएको जनाएको छ ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई सुचीमा समावेश गरिएको छ । त्यस्तै श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन् ।

असार ३ र ७ गते नेपाल एयरलाइन्सका २ उडानहरु र असार ४ र ९ गते हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपालीहरुलाई स्वदेश ल्याईने छ । हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ । टिकटको मूल्य व्यक्ति स्वयंले व्यहोर्नु पर्ने छ ।

प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुकोे नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गरिने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी उपलब्ध गराइने दुतावासले जनाएको छ ।

त्यस्तै आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *