Main News

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ जेठ ३० गते १३:०३
सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु

३० जेठ, २०७७ काठमाडौं । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको बताइएको छ । मृत्यु हुनेको नाम नखुलेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीको हतियार खोस्न खोज्ने भारतको सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए ।

उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *