विदेशबाट नेपालीको उद्धार: भाडामा पनि कमिशन ! ओमानका नेपाली सस्तो भाडामा आउने

३० जेठ, २०७७ काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीलाई स्वदेश फर्काउने भएको छ ।
ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६१ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ । तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २ सय ९९ अमेरिकी डलरमै नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
सरकारले तोकेको ६१ हजार धेरै महंगो भएको र वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न नसक्ने भएकाले ११५ ओमानी रियल अर्थात करिब ३४ हजार रुपैयाँमा ओमानबाट स्वदेश फर्काउने निर्णय गरेको हो।
ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ । र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको हो ।
ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० जना र असार ७ गते त्यति नै संख्यामा नेपाली स्वदेश फर्कंदैछन् । उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ ।
साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया