Main News

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, यस्तो छ खुकुलो लकडाउनमा खुल्ने र बन्द रहने क्षेत्र

हिमालय टिभी
२०७७ जेठ २९ गते ७:१४
लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, यस्तो छ खुकुलो लकडाउनमा खुल्ने र बन्द रहने क्षेत्र

२९ जेठ, २०७७ काठमाडौं । सरकारले चैत ११ गतेदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गरेर पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

हिजो अवेर सकिएको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सावधानी अवनाएर पसलहरु खोल्न दिने र सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो ।

यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु हुनेछ । सरकारले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर(बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिइने भएको छ ।

जसअनुसार चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् । विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेपछि लकडाउनको मोडालिटी कार्यान्वयनमा आउनेछ ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० देखि अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेदेखि लकडाउन गरेको थियो ।

त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको म्याद जेठ ३२ सम्म कायम छ । पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल खोलेर आवागमन बढ्न थालेपछि सरकार दवावमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *