संविधान संशोधनमा संसदमा असाधारण राष्ट्रिय एकताः प्रम ओली

२८ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच संसदमा असाधारण राष्ट्रिय एकता देखिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले नेपाली राजनीतिक दलहरू जनताको भावना अनुसार चलेको प्रष्ट भएको बताउनुभयो ।
राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता स्थापित गर्ने प्रयास साझा प्रयत्न भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव हिजो संसदले सर्वसम्मत पारित गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीको प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री ओलीले दलीय व्यवस्थामा संसदीय अभ्यासमा त्यस्ता राष्ट्रिय एकता, सुदृढ एकताका परिस्थितिकहिले–कहिले मात्र देख्न पाइने बताउनु भयो ।
उहाँले यो घटनामा कसैले जश लिन, श्रेय लिन या कसैको देवत्वकरण गर्न आवश्यक नभएको बताउनुभयो ।
प्रतिक्रिया