कुवेतमा आममाफी पाएका ३ सय नेपाली महिला आज स्वदेश फर्कँदै

२८ जेठ, २०७७ काठमाडौं । कुवेतबाट आममाफीमा सहभागी ३ सय महिला आज स्वदेश फर्कने भएका छन् । दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई नेपाल पठाइदिने भएको हो ।
फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीएमसीले तय गरिसकेको छ ।
आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्रलाई मन्त्रालयलाई बुझाएको र उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कुवेतबाट जजिरा एअरवेजले नेपालीलाई लिएर आउने छ । कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिइरहेको छ ।
आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी छन् । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काइसकेको छ ।
नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।
प्रतिक्रिया