Main News

रुकुम घटना छानबिन गर्न पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन

हिमालय टिभी
२०७७ जेठ २६ गते १९:२२
रुकुम घटना छानबिन गर्न पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन

२६ जेठ, २०७७ काठमाडौं । रुकुम पश्चिममा भएको जातीय विभेदविरुद्धको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।

सभामुखले बैठकको सहमतिका लागि प्रस्तुत गर्नभएको प्रस्तावमा भनिएको छ “रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडानम्बर ८ सोतीमा मिति २०७७ जेठ १० गते घटेको घटनाको सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको र उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने सम्बन्धमा मैले सदनलाई जानकारी समेत गराइसकेको हुँदा तत् सम्बन्धमा प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गर्नको लागि समितिमा रहनुहुने माननीय सदस्यहरुको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्दछु । ”

बैठकले विशेष समिति गठन सम्बन्धी प्रस्तावमा सहमति जनाएको थियो । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित “चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति ”मा सांसदहरु एकवाल मिर्याँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइली स्नेही , बिमला बिक, महेश्वरजंग गहतराज अथक, मीनबहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव सदस्य छन् ।

समितिलाई कार्यप्रारम्भ भएको मितिले ३० दिनको समय दिइएको छ । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफै बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *