Main News

नेपाल एयरलाइन्सले आज तेस्रोपटक अस्ट्रेलियामा चार्टर्ड उडान भर्दै

हिमालय टिभी
२०७७ जेठ २६ गते १२:११
नेपाल एयरलाइन्सले आज तेस्रोपटक अस्ट्रेलियामा चार्टर्ड उडान भर्दै

२६ जेठ, २०७७ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ ।

निगमको वाइड बडी ए–३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । आजको अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *