नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो
२५ जेठ, २०७७, काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा थप २ सय १३ जनामा संक्रमण भेटिएको बताउनुभयो । यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमण हुनेहरु मध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै हालसम्म भएका कुल संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । अहिले सम्म निको भई घर फर्किनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।
अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।
यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहको छन् ।
पछिल्लो समय कहाँ कति संक्रमित भए ?
झापा २
सुनसरी २
मोरङ ३
धादिङ १
रौतहट १
धनुषा १
सिराहा २
कालिकोट ३
नवलपरासी पूर्व ४
बाग्लुङ १०
स्याङ्जा १४
गोरखा १०
बाँके ३
दाङ २
प्यूठान १
रोल्पा ३
कपिलवस्तु १०
दैलेख ३
सल्यान २८
सुर्खेत २०
सर्लाही ७५
महोत्तरी ५
बर्दिया १
कैलाली ५
सिन्धुपाल्चोक १
उदयपुर ३
प्रवक्त देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
देशभर ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
प्रतिक्रिया