डोटी र बैतडीमा क्वारेन्टाइनमा रहेका दुई जनाको मृत्यु, कोरोना परीक्षणको तयारी

२५ जेठ,, २०७७ काठमाडौं । डोटी र बैतडीको क्वारेन्टिनमा बसेका दुई जनाको मृत्यु भएको छ ।
डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका एक र बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका अर्का एक युवाको मृत्यु भएको हो ।
बैतडीमा भारतको लुधियानाबाट १९ गते डोटी पुगेका १९ वर्षीय युवकको मुत्यु भएको हो । मृतक २० गतेदेखि केआई सिंह गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।
मुटुको रोगी रहेका युवाको आज बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिनुभयो । उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन् ।
मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउने र मृतकको रिपोर्ट नआएसम्म शव नउठाइने मलासीले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने छ ।
यता भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको हो । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताउनुभयो ।
शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।
प्रतिक्रिया