Main News

उडेर आउने र हिँडेर आउनेमाथि सरकारको विभेद (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २४ गते १८:४५
उडेर आउने र हिँडेर आउनेमाथि सरकारको विभेद (भिडियोसहित)

२४ जेठ, २०७७ काठमाडौं । हुने खाने र हुँदा खाने वर्गलाई फरक फरक व्यवहार गरेको आरोप सरकारमाथि लाग्दै आएको छ । यस्तै एउटा विभेद विदेशबाट फर्कने नागरिकमाथि पनि भएको छ । उडेर आउनेले सरकार भएको अनुभुति गरे पनि गुडेर र हिँडेर आउनेले भने अझै यो अनुभुति गर्न पाएका छैनन् ।

गत चैतमा भारतबाट फर्कने क्रममा सप्तरीको मौवहाका हरेकृष्ण साह र चन्द्र यादवलाई प्रहरीले गरेको निर्मम स्वागतले सबैलाई स्तब्ध बनायो । भारतबाट आएकालाई यसरी लाठीले निर्मम स्वागत गर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरमा कार्यरत हवल्दार मनोज चौधरी हुन् ।

अनि अर्को घटना पनि चैतको तेश्रो हप्तातिरको हो। जतिबेला नेपाल र भारतमा लकडाउन सुरु भइसकेको थियो । भारतका विभिन्न शहरबाट नेपाली सीमा नाकामा आइपुगेका थिए । तर उनीहरुका लागि नेपालको ढोका बन्द थियो । त्यसैले आँट हुनेले महाकाली नदीमा पौडिएर मातृभूमि फर्कने साहस गरे । तर उनीहरुलाई प्रहरीले पक्रेर थुन्यो ।

देश अहिले पनि लकडाउनमै छ । साढे २ महिनादेखि विदेशमा रहेका नागरिकलाई ढोका बन्द गरेको सरकार अहिले अलि नरम बनेको छ । र, उसले नेपालीलाई विदेशबाट आउन दिने नीति लिएको छ । सरकार नरम बनेपछि म्यानमारले आफ्नो देशमा अलपत्र २६ जना नेपालीलाई काठमाडौंमा उतारी दियो र हवाई मार्गबाट पनि नेपाली स्वदेश फर्कने क्रम शुरु भयो । त्यसपछि विदेशबाट आउनेलाई बाटोमै रोक्ने र ठोक्ने सरकारको फरक व्यवहार देखियो । त्यो फरक व्यवहारले आफ्नै नागरिकप्रति पनि सरकार विभेदकारी छ भन्ने झल्काएको छ ।

भारतबाट पैदलै आउने हुन् वा विमान चढेर विदेशबाट आउने दुवै नेपाली नागरिक हुन् । तर पैदल आउनेलाई अनागरिकको जस्तो व्यवहार भयो । अहिले पनि भारतीय सीमा नाकामा यस्तै व्यवहार भइरहेको छ । पैदल आउनेलाई अपमान गर्ने सरकार जहाज चढेर आउनेलाई भने स्वागत सत्कार गर्न व्यस्त छ ।

म्यानमारबाट आएका हुन् वा यूएईबाट नै किन नहोस् । विमानबाट आउनेलाई लिन विमानस्थलमै सेनाका गाडी पुगे । आरामका लागि स्थापना गरिएका होल्डिङ्ग सेन्टरमा लगियो । उच्च सतर्कताका साथ स्वास्थ्य जाँच गरियो । उनीहरुको अवस्था बुझ्न मन्त्री नै पुगे ।

तर बिडम्बना यिनै मन्त्री सहभागी सरकारले सीमाबाट पैदल आउनेलाई भनिरह्यो खबरदार नेपाल छिर्न पाउँदैनौँ । अहिले पनि भारतबाट आउनले निक्कै सास्ती भोग्नु परेको छ । त्यो सास्ति सिमानामा मात्र सीमित छैन् । भारतबाट आउनेलाई राखिने क्वारन्टिनमा पनि समस्यै समस्या छ । हरेक दिन क्वारन्टिनमा मृत्यु भइरहेको खबर आइरहेका छन् ।

भारतबाट पैदलै आउने हुन् वा विमान चढेर विदेशबाट आउने दुवै नेपाली नागरिक हुन् । तर पैदल आउनेलाई अनागरिकको जस्तो व्यवहार भयो । अहिले पनि भारतीय सीमा नाकामा यस्तै व्यवहार भइरहेको छ । पैदल आउनेलाई अपमान गर्ने सरकार जहाज चढेर आउनेलाई भने स्वागत सत्कार गर्न व्यस्त छ ।

यसको अर्थ जहाज चढेर आउनेको स्वागत गर्नुहुँदैन भन्ने होइन । खाडी मुलुकमा पसिना बगाएर नेपालको अर्थतन्त्र धान्न योगदान गरिरहेका नागरिक अहिले समस्यामा परेका छन् । अलपत्र परेका आफ्ना नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काउनु सरकारको कर्तव्य हो । तर आफुलाई कम्युनिष्ट, समाजवादी र वर्गविहीन समाज स्थापनाको हिमायती ठान्ने सरकारले यसरी नागरिकमाथि विभेद गर्दा किन संकोच मानेन भन्ने मात्रै प्रश्न हो ।

जहाजबाट आउनेलाई सरकारले जे जसरी स्वागत गरेको छ । ठिक छ । तर यस्तै स्वागत सत्कारको हकदार ती नागरिक पनि छन्– जो खाली खुट्टा श्रम गर्न भारत गएका थिए र अहिले समस्यामा परेर खाली खुट्टै पैदल हिडेर भारतबाट सीमामा अइपुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *