Main News

आरडीटी परीक्षणमा भरपर्दा गाउँगाउँमा कोरोनाको जोखिम बढ्दो (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २३ गते १९:५४
आरडीटी परीक्षणमा भरपर्दा गाउँगाउँमा कोरोनाको जोखिम बढ्दो (भिडियोसहित)

२३ जेठ, २०७७, काठमाडौं । कोरोना संक्रमण फैलिएको गतिमा परीक्षणको गति बढाउन नसकेको सरकारले आरडिटी विधिबाट पनि कोरोना परीक्षण गर्दै आएको छ । जबकी आरडिटी रिपोर्टको आधारमा कोरोना संक्रमण छैन भनिएका व्यक्तिले ज्यान गुमाएका छन् र पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । यसले गाउँ गाउँमा कोरोना फैलिने जोखिम बढेको छ ।

जेठ ७ गते भारतबाट आएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक १४ दिन क्वारन्टिन बसे । आरडीटी विधिबाट कोरोना परीक्षण गरियो । रिपोर्ट नेगेटिभ आयो ।

कोरोना संक्रमण नभएको भनेर भर पठाइयो । । तर उनले घरपरिवारसँग एक रात पनि बिताउन पाएनन् । घर पुगेको राती नै उनी सदाका लागि अस्ताए । मृत्युपछि उनको नमूना संकलन गरेर पीसीआर विधिबाट कोरोना परीक्षण गरियो । कोरोना नलागेको भन्दै खुसी हुँदै घर पुगेका युवकमा मृत्युपछि कोरोना पुष्टि भयो ।

सुर्खेतका युवकको मृत्युमा सरकारको पूरा लापरबाही देखिन्छ । उनी भारतबाट आएका कारण संभावित संक्रमित थिए । त्यसैले समयमै पीसीआर परीक्षण् जरुरी थियो । तर त्यसो हुन सकेन । सरकारले कुनै पनि मान्यता नपाएको आरडिटी विधिबाट उनको परीक्षण गर्यो र त्यसकै आधारमा कोरोना संक्रमण नदेखिएको भन्दै घर पठायो ।

मृत्युपछि कोरोना पुष्टि हुने सुर्खेतका यी युवक पहिलो हैनन् । अहिलेसम्म कोरोना संक्रमणबाट एघार जनाको मृत्यु भएकोमा ९ जनाको रिपोर्ट मृत्युपछि नै आएको छ ।

सुर्खेतका युवकको मृत्युमा सरकारको पूरा लापरबाही देखिन्छ । उनी भारतबाट आएका कारण संभावित संक्रमित थिए । त्यसैले समयमै पीसीआर परीक्षण् जरुरी थियो । तर त्यसो हुन सकेन । सरकारले कुनै पनि मान्यता नपाएको आरडिटी विधिबाट उनको परीक्षण गर्यो र त्यसकै आधारमा कोरोना संक्रमण नदेखिएको भन्दै घर पठायो ।

तर उनमा कोरोना संक्रमण छ भन्ने मृत्युपछि मात्र थाहा भयो । विज्ञहरुले आरडिटी विधिबाट कोरोना भए नभएको पुष्टि नहुने बताउँदै आएका छन् ।

शरीरमा कोरोना भाइरससँग जुध्ने एन्टिबडी छ छैन भन्ने मात्रै आरडीटीविधिबाट पत्ता लगाउन सकिने विज्ञको भनाई छ । उनीहरुले भनेका पनि छन् भर्खरै कोरोना संक्रमण भएको व्यक्तिमा एन्टिबडी नहुन सक्छ र मुक्त भएको लामो समयसम्म पनि शरिरमा एन्टिबडी रहन सक्छ । त्यसैले आरडीटीबाट कोरोना संक्रमण छैन भनेर ढुक्क हुन सकिन्न ।

तर विज्ञको सुझाव लत्याउँदै सरकारले आरडीटी परीक्षणलाई नै प्राथमिकता दिएको छ । र आरटिडी परीक्षण गरेर त्यही रिपोर्टलाई मान्दै पनि आएको छ । सरकारले अहिलेसम्म १ लाख ३३ हजार आरडीटी परिक्षण गरेको छ । यसअघि नै डेढ लाख आरडिटी किट किनेको सरकारले फेरि डेढ लाख किन्ने तयारी गरेको छ । जबकी आरडीटी परीक्षणको रिपोर्टलाई पत्याउँदा संक्रमित आफैं जोखिममा परेका छन् ।

क्वारन्टिनमा बसेकाहरुलाई आरडीटी परिक्षण गरेर घर पठाउँदा कोरोना पनि गाउँगाउँ र घरघरमा पुग्दैछ । यस्तो स्थितिमा सरकारले किन आरडीटी परीक्षण गरिरहेको छ र यसैलाई प्राथमिकता दिइरहेको छ ? गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *