Main News

म्यानमारमा रहेका २६ जना नेपालीलाई आज नेपाल ल्याइँदै

हिमालय टिभी
२०७७ जेठ २३ गते ९:१३
म्यानमारमा रहेका २६ जना नेपालीलाई आज नेपाल ल्याइँदै

२३ जेठ, २०७७, काठमाडौं । म्यानमारले त्यहाँ रहेका २६ जना नेपालीलाई स्वदेश ल्याइदिने भएको छ ।

म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष विमान बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।

यूएईबाट झण्डै एक सय ६० देखि २ सय ५० जनासम्म नेपालीलाई ल्याउने भनिए पनि त्यसको तालिका र संख्या अझै टुंगो लागिनसकेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागिले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो ।

नेपाली लिएर एयर अरेबियाको चार्टड विमान दिउँसो काठमाडौंमा अवतरण गर्नेछ भनिएको थियो । तर त्यसको एकिन नभएको र सूचना संकलनको काम भइरहेको सचिव बैरागिले बताउनुभयो ।

नेपाली श्रमिकलाई घर फर्काउन युएईले केही दिनभित्रै थप आठ उडान गर्ने तयारी गरेको जनाएको छ । त्यहाँ रहेका करिब १८ हजार नेपाली श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् । यूएईले त्यहाँ अलपत्र नेपालीलाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो।

म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यानमारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो।

नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्काइने सरकारको तयारी छ। कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ।

कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन् । साउदी अरवबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन्। यस्तै ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन्।

कुवेतबाट आममाफी पाएका तीन हजार र अन्य ५ हजारजति फर्किने आंकलन गरिएको छ। यस्तै अमेरिकाबाट ५ सय र अष्टेलियाबाट १२ सय जनाको सूचि बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *