Main News

रुकुम पश्चिम घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, बेपत्ता युवकको शव फेला

हिमालय टिभी
२०७७ जेठ २१ गते ७:२८
रुकुम पश्चिम घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, बेपत्ता युवकको शव फेला

२१ जेठ, २०७७ काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका अर्का युवाको पनि शव भेटिएको छ ।

भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव भेरी नदीमा फेला परेको हो । यो संगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शाहीको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । शाहीको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ ।

पोस्टमार्टम रिपोर्टपछि उहाँको मृत्युको कारण खुल्ने डीएसपी श्रेष्ठको भनाइ छ । स्थानीयले भने शाहीको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए ।

उनीसँगै भेरी नदीमा बेपत्ता भएका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले पनि घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *