Main News

लकडाउनको विकल्प खै ? सडकमा उत्रन थाले लकडाउनविरुद्ध नागरिक (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २० गते २०:०९
लकडाउनको विकल्प खै ? सडकमा उत्रन थाले लकडाउनविरुद्ध नागरिक (भिडियोसहित)

२० जेठ, २०७७, काठमाडौं । सरकारले लकडाउनको विकल्प लकडाउन मात्रै देख्न थालेपछि त्यसको विरोध हुन थालेको छ । काठमाण्डौको जोरपाटीमा व्यापारीले सडकमै उत्रेर प्रदर्शन गरेका छन भने उद्योग वाणिज्य संघ सुर्खेतले अब सहन नसकिने भन्दै भोलिदेखि पसल खोल्ने घोषणा गरेको छ ।

मंगलवार लकडाउनको ७१ औं दिन हो । सरकारले घोषणा गरेको लकडाउन अहिलेसम्म राम्रैसँग पालना भैरहेको थियो । तर अब भने यो टुट्न थालेको छ । दैनिक काम गरेर जीवन धान्नुपर्नेहरु लकडाउन खुकुलो गर्न माग गर्दै सडकमा निस्किन थालेका छन् । मंगलवार जोरपाटीमा एका एक स्थानीय ब्यापारी सडकमा उत्रे ।

सरकारले लकडाउन बढाएको बढाई छ, तर जनजीवन सामान्य पार्ने र हातमुख जोहो गराउने उपायका विषयमा चुप छ, परिणाम खान नपाउने समस्या श्रृजना हुन लाग्यो भन्दै व्यापारी सडकमा आउन बाध्य भए ।

यतिमात्रै होइन, सरकारले विभेद गरेको पनि उनीहरुको गुनासो छ । ठूला ठूला मल मार्टहरु खुल्दा आफ्ना साना पसल किन बन्द भन्ने उनीहरुको प्रश्न छ ।

जोरपाटीका व्यापारी सडकमै उत्रिसके अन्य ठाउँका व्यापारी पनि लकडाउनको विरुद्धमा उत्रिने तयारीमा छन । उनीहरु खासमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको विरुद्ध होईन, लकडाउनबाट सिर्जित रोजीरोटीको समस्या समाधान गर्न सरकारले ध्यान नदिएको उनीहरुको आक्रोश छ ।

कसरी खाने कसरी बाँच्ने भन्ने उनीहरुको चिन्ता छ । उद्योग वाणिज्य संघ सुर्खेतले भोलि बुधवारदेखि सबै पसल खोल्ने घोषणा गरेको छ । सबै पसल १० बजेदेखि ३ बजेसम्म पसल खुल्नेछन । त्यस्तै फलफूल तरकारी, ग्यास र डेरी पसल विहान पाँच देखिन नौ र बेलुकी ५ बजेदेखि नौ बजेसम्म खुल्नेछन । संघले यसलाई बाध्यात्मक कदम भनेको छ ।

विज्ञप्ति निकालेर संघले भनेको छ –सरकारले पटके रुपमा बन्दाबन्दी लम्ब्याउने बाहेक अन्य कुनै प्रभावकारी प्रयास नगरेको अवस्थामा विकल्पविहीन बनाइएको बन्दाबन्दीलाई थप थेग्न सक्ने अवस्था र संयमता अब निजी क्षेत्रमा छैन ।’

सरकारले लकडाउन त गरेको छ तर त्यसले जनजीवनमा पारेको नकारात्मक असरलाई कसरी कम गर्ने भन्नेबारेमा सोचेको र योजना बनाएको पाईदैन । परिणाम त्यसको विरोधमा मान्छेहरु सडकमा उत्रिन थालेका छन । त्यसैले यसबारे सरकारले गम्भीर ढंगले सोच्नुपर्छ । अवस्था कोरोनाबाट भन्दा भोकबाट डराउने हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *