प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका आठ जना सांसदद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

२० जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका आठ जना सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेसका तराई–मधेशबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप गिरि, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव सहितका सांसदले गैर सरकारी विधेयक दर्ता गर्नुभएको हो । केन्द्रीय समितिले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुन दर्ता गर्न दिएको निर्देशन अनुसार नै उनीहरुले संशोधन दर्ता गरेका हुन ।
०७४ भदौ ५ मा असफल भएको संविधान संशोधन प्रस्ताव फेरि ब्युँताएर दर्ता गरिएको छ । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन माओवादी केन्द्र सहितको संयुक्त सरकार थियो। राजपा र समाजवादी पार्टीको माग अनुसार त्यसबेला देउवा सरकारले ल्याएको संविधान संशोधन विधेयक तत्कालीन नेकपा एमालेलगायत दलले असहयोग गर्दा असफल भएको थियो ।
राष्टिय एकता बलियो बनाउन विधेयक दर्ता गरिएको कांग्रेस सांसद अमरेशकुमार सिंहको दावी छ ।
संविधानको धारा ५६ मा संघीय संरचना पुनरावलोकन अयोग गठन, धारा २८७ मा संघीय आयोग गठन, धारा ८२ मा रहेको समावेशी प्रतिनिधित्वको ठाउँमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।
त्यस्तै संविधानको धारा ११ मा संशोधन गरी नेपालीसँग विवाह गरी आएकी महिलाले सम्बन्धित देशको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगिकृत नागरिकता लिनसक्ने व्यवस्था थप गर्न माग गरिएको छ ।
प्रतिक्रिया