नेपाल प्रहरीमा दलित सेल स्थापना गर्न संसदीय समितिको निर्देशन
२० जेठ, २०७७, काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकमा सांसदहरुले दलित सेल स्थापना गर्न आवश्यक भन्दै स्थापनाको माग गरेपछि समितिले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
दलित समुदायमाथि हुने विभेद र अपराधजन्य घट्न बढ्न थालेको सन्दर्भमा तिनको सहजीकरण र न्यायमा सहज पहुँचका लागि दलित सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।
यसबाहेक समितिले पश्चिम रुकुमको चौरजहारीमा भएको घट्नामा घाइते भएका सबैको निःशुल्क उपचार गर्न र बेपत्ता एकजनाको खोजी तीव्र पार्न पनि सरकारलाई निर्देशन दिएको छ ।
जेठ १० गते भएको घटनाका दोषीमाथि निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले घट्नाबारे जानकारी लिन गृहमन्त्री, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई बोलाएको थियो ।
प्रतिक्रिया