Main News

विदेशमा रहेका नेपालीलाई फर्काउने यस्तो छ सरकारको तयारी, कहाँबाट कति नेपाली आउँदैछन् ?

हिमालय टिभी
२०७७ जेठ २० गते १७:०३
विदेशमा रहेका नेपालीलाई फर्काउने यस्तो छ सरकारको तयारी, कहाँबाट कति नेपाली आउँदैछन् ?

२० जेठ, २०७७, काठमाडौं । श्रम गन्तव्य मुलुकहरुबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ ।

आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन भइरहे पनि अहिले ४० हजारको संख्या स्वदेश फर्किन चाहनेहरु रहेको अनुमान सरकारको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले कुवेतबाट तत्काल ८ हजार, साउदी अरबबाट ८ हजार र युएइबाट ४ हजार नेपाली आउने तयारीमा रहेको बताउनुभयो ।

यसैगरी मलेसियाबाट ७ हजार कतारबाट ११ हजार, बहराइनबाट ३ सय जोर्डनबाट ६ सय, साइप्रसबाट ४ सय र अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार रहेको उहाँले बताउनुभयो । २ दिनभित्र यो सबै दूतावासबाट आधिकारिक तथ्याङ्क आउने उल्लेख गर्दै उहाँले श्रम गन्तव्य मुलुकबाहेकको तथ्याङ आइनसेको बताउनुभयो ।

सरकारले तय गरेको प्रथामिकताको सूची अनुसार स्वदेश फर्किन चाहनेहरुले सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने छ । केही खाडी मुलुकहरुले आममाफी पाएका व्यक्तिहरुलाई सम्बन्धित देशले आफ्नो खर्चमा पठाउने भनेपनि अन्यको हकमा व्यक्तिगत खर्च लाग्ने उहाँले बताउनुभयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सचिव बैरागीले आर्थिक अवस्था कमजोर रहेका वा खर्च व्यहोर्न सक्ने अवस्था नभएकाहरुको हकमा भने सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले कुबेतबाट उद्धारको काम ५ तारिखबाट सुरु गर्ने तयारी भएको बताउनुभयो । एक दिनमा एक मुलुकमा १ फ्लाइट गरी १० वटा फ्लाइटमार्फत उद्धार गरिने उहाँले बताउनुभयो । सचिव बिडारीले एक दिनमा २५ सयदेखि ३ हजारसम्मलाई स्वदेश फर्काउने गरी सरकारले तयारी गरेको छ । विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसहरुमा उनीहरुलाई राख्ने तयारी सरकारले गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताउनुभयो । आवश्यक परेमा बुद्ध एयरलाइन्सबाट पनि उद्धार गरिनेछ । वाइडीबडीमा बढीमा २ सय ५० र अन्य विमानमा बढीमा ४० जनालाई ल्याइने उहाँले बताउनुभयो ।

विदेशबाट आएकाहरुलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिनेछ । प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *