Main News

प्रदेश १ मा १८ जना कोरोनामुक्त भएर घर फर्किए

हिमालय टिभी
२०७७ जेठ २० गते १२:१३
प्रदेश १ मा १८ जना कोरोनामुक्त भएर घर फर्किए

२० जेठ, २०७७, धरान । प्रदेश १ का थप १८ जनाले कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ ।

दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गर्नुभएको थियो । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ ।

यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए । प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *