राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता

१९ जेठ, २०७७ काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेका छन । गैरसरकारी रूपमा विधेयक दर्ता भएको छ ।
राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधन विधेयक दर्ता गर्नुभएको हो । विधेयक दर्ता पछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव ल्याएपनि आफुहरुले उठाउँदै आएका विषयहरु नसमेटेकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताउनुभयो ।
विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक दर्ता भएको हो ।
विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै अंगीकृत नागरिकता पाउनुपर्ने, राष्ट्रिय सभामा हरेक प्रदेशबाट ३– ३ जनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय गर्न संवैधानिक संयन्त्र गठन गर्नुपर्ने उल्लेख छ ।
यस्तै सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने, संवैधानिक अदालत गठन गर्नुपर्ने माग छ ।
विधेयकमा राजदूत लगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने पनि उल्लेख छ ।
राजपा–समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएपनि कानुनी मान्यता नपाइसकेकाले संसदीय अभ्यासमा दुई दलकै रुपमा सक्रिय छन । यसअघि शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो ।
प्रतिक्रिया