भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोनामुक्त भएर डिस्चार्ज

१९ जेठ, २०७७, रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिकासहित २२ जना पुरुष र तीनजना महिला छन् ।
२५ जनामध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।
यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउँपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।
प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुई पटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताउनुभयो ।
उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादासहित पुष्पगुच्छा दिएर बिदाइ गरिएको थियो ।
प्रदेश ५ मा यसअघि बुटवलको धागो कारखानामा बनाइएको अस्पतालबाट दुईपटकमा १४ जना, नेपालगन्जको सुशील कोइराला क्यान्सर अस्पताबाट २१ जना र कपिलवस्तुकी एक नर्स पनि कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया