बाँकेमा भएको माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २१ जना घाइते

१९ जेठ, २०७७ बाँके । बाँकेको राप्तीसोनारी–२ ठुरीया जंगलमा भएको माइक्रो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
नेपालगन्जको जमुनहा नाकाबाट सल्यान जाँदै गरेको माइक्रो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डको ठुरीया जंगलमा दुर्घटना हुँदा थप २१ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको माइक्रो रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका २१ जनाको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक १२ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको भेरी अस्पताल नेपालगनका प्रमुख डा प्रकाश थापाले जानकारी दिनु भयो ।
अधिकाश घाइतेहरु दाङ, सल्यान र रोल्पाका छन । उनीहरु भारतको सिमला लगायत बिभिन्न शहरहरुबाट नेपालगन्ज नाका हुँदै घर फर्कँदै थिए । क्षमताभन्दा धेरै यात्रु , तिब्र गति र चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको घाइतेहरुले बताएका छन ।
दुर्घटना पछि घाइतेको उद्धार र उपचारको ब्यवस्था मिलाउने र दुर्घटनाको हुनुको कारण पत्ता लगाउन छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाकेको प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिनु भयो ।
मृतकहरुको सनाखत अझै भइसकेको छैन । गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको छ ।
प्रतिक्रिया