कैलालीमा सात पालिका संयुक्त अस्पताल सञ्चालनको तयारीमा (भिडियोसहित)

१७ जेठ, २०७७, कैलाली । कैलालीका सात पालिका मिलेर अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।
कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।देशभरि कोरोना संक्रमित बढेसँगै टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् ।
कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा लागेका हुन् ।
स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शैयाको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।
बैठकले टीकापुर अस्पतालका डाक्टर जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।
अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । सात स्थानीय तहका बिरामीले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ ।
प्रतिक्रिया