Main News

तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय

हिमालय टिभी
२०७७ जेठ १६ गते १७:४५
तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय

१६ जेठ, २०७७ । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो ।

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने उहाँले बताउनुभयो । यस्तै सरकारी सेवामा रहेर तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ ।

सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ । सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालाई दिनेछ । पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ ।

समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन देशका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । सचिव विडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, विरगञ्ज र महेशपुर नाका तोकेको छ ।

यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकेको छ । मन्त्रिपरिषद बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

One thought on “तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय

  1. विगत तिनमहिना देखि साउदी अरबमा भिसा सकेर हामी त्यतिकै कम्पनीमा बसिरहेका छौ,न त सेलरी छ,न त खाना छ,दिनप्रतिदिन साउदी अरबमा कोरोनाको चपेटामा छौ,हामी यहाँ साह्रै अप्ठ्यारोमा छौ,हामीलाई श्री ५ महाराजाधिराज केपिओलिले कहिलेसम्ममा हाम्रो उद्धार गर्छन् कृपया हाम्रो समस्या श्री ५ महाराजाधिराज केपिओली सामु पुर्‍याएदिनुहुला धन्यवाद ।।

    Company Name: Al SAED INTERNATIONAL COMPANY SAUDI AREBIA JEDDAH

Leave a Reply

Your email address will not be published. Required fields are marked *