१६ जेठ, २०७७, काठमाडौं । नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ।
गए राति विज्ञप्ति जारी गर्दै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तीमा भारतीय दुई अनलाइन हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित समाचारको खण्डन गरेको हो ।
दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित छन् । उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यले प्रेरित भएको विज्ञप्तीमा उल्लेख छ ।
सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न अनुरोध गरेको छ।