Main News

नरैनापुरको क्वारन्टिनः रोग निको होलाभन्दा सर्ला भन्ने त्रास !

हिमालय टिभी
२०७७ जेठ १४ गते १९:५६
नरैनापुरको क्वारन्टिनः रोग निको होलाभन्दा सर्ला भन्ने त्रास !

१४ जेठ, २०७७, नेपागञ्ज ।   बाँकेको नरैनापुर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भएको स्थानीय तह हो । यो गाउँपालिकामा १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नरैनापुरका १५ वटा क्वारन्टिनमा अझै झण्डै ६ सयजना छन् । तर यहाँका क्वारन्टिनको अवस्था भने नाजुक छ ।

नरैनापुरका विभिन्न क्वारन्टिनमा अहिले ६ सय भन्दा बढीलाई राखिएको छ । तर यहाँका अधिकाँश क्वारन्टिनको अवस्था अत्यन्तै नाजुक छ । एउटै कोठामा १५–१६ जनासम्म कोचाकोच भएर बसेका छन् । क्वारन्टिनभित्र सामाजिक दूरी पालना त परको कुरा शौचालय र खानेपानीको समेत गतिलो व्यवस्था छैन ।

मटैयास्थित नमुना प्रावि मोतिपुरको क्वारन्टिन जहाँ ३ महिलासहित ९६ जनालाई राखिएको थियो । ५ जनामा कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा लगियो । अहिले ९१ जना छन् । सँगै रहेका ५ जनामा संक्रमण देखिएकाले अन्य पनि जोखिममा छन् । तर, यहाँ बस्नेले कुनै मापदण्ड पालना गरेका छैनन् अथवा गर्न सम्भव छैन । क्वारन्टिनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि खटिएका छन् । स्वास्थ्यकर्मीको संख्या कम भएकाले एकजनाले हेल्थपोष्ट र क्वारन्टिनमा ड्युटी गर्नुपर्ने अवस्था छ ।

एउटै कोठामा १५–१६ जनासम्म कोचाकोच भएर बसेका छन् । क्वारन्टिनभित्र सामाजिक दूरी पालना त परको कुरा शौचालय र खानेपानीको समेत गतिलो व्यवस्था छैन ।

अर्को नैरनापुरको गुल्सनेवारी क्बारन्टिन हो। यहाँ रहेका ४३ मध्ये ६ जनामा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा लगियो । ३७ जना क्वारन्टिनमै छन् । उनीहरुको परीक्षण हुन सकेको छैन । संक्रमणको जोखिमका कारण यहाँ बस्नेहरु पनि त्रसित छन् । यो क्वारन्टिनमा शौचालय नै छैन । उनीहरु नजिकैको खुल्ला स्थानमा शौच गर्छन् ।

बाँकेको नरैनापुरमा निषेधित क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गरिएको छ । क्वारन्टिनमा सामाजिक दुरी बनाउन र सरसफाइमा ध्यान दिन आग्रह गरिरहेको सैनिक अधिकारी बताउँछन् ।

बाँकेको नरैनापुर गाउँपालिकामा मात्रै १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकजनाको क्वारन्टिनमै मृत्यु भयो । ठुलो संख्यामा क्वारन्टिनमा बसेकाहरुको कोरोना परीक्षण हुन सकेको छैन । यसरी भद्रगोल ढंगले क्वारन्टिनमा राखिदा सबैमा संक्रमणको जोखिम देखिएको छ ।

संघ र प्रदेश सरकारले कोरोना संकटसँग लड्न भन्दै अर्बौ रकम छुट्याएका छन् । तर, त्यो रकम गाउँका यि क्वारन्टिनमा पुग्न सकेको छैन । यसले सरकारको तयारीमै प्रश्न उठाएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *