संविधान संशोधन विधेयक संसदको कार्यसूचीबाट हट्यो
काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची आज हटेको छ । यसअघि संविधान संशोधन विधेयक पेश हुने बताइएको थियो ।
संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानून मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधान संशोधन विधेयक आजको कार्यसूचीबाट हटेको जानकारी दिनुभयो । सरकारले सर्वसम्मत रुपमा संशोधन विधेयक पारित गराउन पहल गर्दै आएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो ।
त्यसअघि मन्त्रिपरिषद बैठकले जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया