Main News

क्वारन्टिन र आइसोलेसनमा रहेका चार जनाको मृत्यु, कोरोना परीक्षणको तयारी

हिमालय टिभी
२०७७ जेठ १४ गते ११:३२
क्वारन्टिन र आइसोलेसनमा रहेका चार जनाको मृत्यु, कोरोना परीक्षणको तयारी

काठमाडौं । कैलाली, बर्दिया र सुर्खेतमा क्वारन्टिन र आइसोलेशनमा बसेका तीन जनाको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी त्यही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मृतकको र्‍यापिट टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणका लागि स्वाब संकलनसमेत गरिएको  छ ।

 

यस्तै बर्दियाको गुलरिया नगरपालिकाको क्वारन्टिनमा बसेका एक जनाको पनि ज्यान गएको छ । बबई क्याम्पसको क्वारन्टिनमा बसेका ५५ वर्षीय एक पुरुषको मृत्यु गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ ।

मृतकको अहिले कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ । उनी दुई दिन अघि अछामबाट बर्दिया आएको बुझिएको छ ।

उता भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको गएराति नै निधन भएको छ ।  सुर्खेतकै चिंगाड गाउँपालिका वडा नम्बर तीन टुले हाल वडा नम्बर ५ अवलचिंग बस्दै आएका २२ वर्षका वीरेन्द्र रोकायाको मृत्यु भएको हो ।

उनी हिजो मात्रै रुपैडियाबाट आएका थिए । मृतकको आरडीटीसमेत परीक्षण गरिएको थिएन । प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले हिजो राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी मृत अवस्थामा फेला परेको बताए ।

उनी दुई वर्षदेखि बाथ रोगबाट ग्रसित रहेको बताइएको छ । चिंगाड जाने बसमा आएका उनलाई असजिलो भएका कारण हिँजो साँझ अस्पताल भर्ना गरिएको थियो । आज दिउँसोसम्म उनको पीसीआरको रिर्पोट आउने बताइएको छ ।

यस्तै कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारन्टिन व्यवस्थापनमा जुटेका उहाँ एक्कासी बेहोस हुनुभएको थियो । ५८ वर्षीय रानाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उहाँमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *