Political Hightlights

चिनियाँ राष्ट्रपति असोज २८ गते नेपाल आउने, भ्रमणको तयारी तिब्र

हिमालय टिभी
२०७६ भदौ १८ गते ७:४३
चिनियाँ राष्ट्रपति असोज २८ गते नेपाल आउने, भ्रमणको तयारी तिब्र

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तयसँगै तयारी पनि शुरु भएको छ । राष्ट्रपति सी असोज २८ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति सी नेपाल आए यो राष्ट्रपतिको तहमा चीनबाट २३ वर्ष पछिको भ्रमण हुनेछ ।

भारत भ्रमण सकेर फर्कदा राष्ट्रपति सीले नेपालको भ्रमण गर्नुहुनेछ । चिनियाँ राष्ट्रपति सी अक्टोम्बर १२ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । विहान सात बजे काठमाडौं आइपुग्ने सी त्यसै दिन साँझ करिव सात बजे बेइजिङ फर्कनुहुनेछ । राष्ट्रपति सीले नेपाल रहँदा होटल सोल्टीमा सबै भेटघाट गर्नुहुनेछ ।

राष्ट्रपति सीको भ्रमणकै तयारी र छलफलका एजेन्डा तय गर्न चिनियाँ विदेश मन्त्री वाङ यी सेप्टेम्वर ९ मा काठमाडौं आउँदै हुनुहुन्छ । राष्ट्रपति सीकै भ्रमणको तयारीका लागि गृहमन्त्री रामबहादुर थापाले पनि बेइजिङ भ्रमण गर्ने तयारी छ ।

पछिल्लो पटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुलाई महिनामा बेइजिङमा आफ्ना समकक्षी वाङ यीसँग गरेको भेटवार्तामा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय उठेको थियो । त्यसबेला जारी गरिएको विज्ञप्तिमा नेपालको परराष्ट्र मन्त्रालयले दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन उच्च तहका भ्रमणलाई निरन्तरता दिने भन्नेबारे ठोस छलफल भएको उल्लेख छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी अप्रिल १४ मा चीन भ्रमणमा जानु भएको थियो । त्यसबेला उहाँले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो । हरेक निम्तामा चिनियाँ पक्षले उपयुक्त समयमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने बताउँदै आएका थियो ।

यता, नेपालका नेताहरुले आफूहरू चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा स्वागत गर्न आतुर रहेको बताउँदै आएका छन् । परराष्ट्र मामिलाका जानकारहरूले नेपालको राजनीतिक अस्थिरता र दलहरूबीच परराष्ट्र मामिलामा देखिएका विवादलाई चिनियाँ राष्ट्रपतिको भ्रमण हुन नसक्नुको कारण मान्दै आएका छन् ।

चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बर अर्थात् २०५३ मङ्सिर १९ र २० गते दुई दिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । यद्यपि, चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू र चीनका उच्च अधिकारीले भने नियमित रूपमा नेपालको भ्रमण गरिरहेका छन् ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सन् २०१२ को जनवरीमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओको पाँच घण्टे नेपाल भ्रमण भएको थियो । त्यसबेला चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा नेपाललाई १४ करोड डलर उपलब्ध गराउने घोषणा भएको थियो ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपालले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सँग जोडिएका ठोस परियोजनाहरूमा सम्झौता हुने सम्भावना छ ।

यसै वर्ष चीनमा भएको बेल्ट एन्ड रोड फोरमको बैठकमा नेपाल(चीन सीमापार रेल सञ्जाललाई उक्त महत्त्वाकांक्षी चिनियाँ पूर्वाधार लगानी परियोजना अन्तर्गत राखिएको थियो । संसारका शक्तिशाली नेतामध्येका एक राष्ट्रपति सीको भ्रमणको ठूलो रणनीतिक महत्त्व र अर्थ हुने भएकाले त्यही स्तरको तयारी चाहिने कूटनीतिक मामिलाका जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्