Political Hightlights

राजसंस्था उल्टाउने प्रयास नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

हिमालय टिभी
२०७६ भदौ १ गते ८:२३
राजसंस्था उल्टाउने प्रयास नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिनुभएको हो । प्रतिगमनकारीहरुले सरकार अधिनायवादतर्फ गयो भन्दै जनतामा अविश्वास, निराशा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उहाँले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने बताउनुभयो ।
उहाँले भन्नुभयो “ती शक्तिहरु जीउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ । यो बेमौसमी बाजा नबजाए हुन्थ्यो । ”

उहाँले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ । सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने , प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन । म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासनविरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिए हुन्छ । ”

केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उहाँले सबैलाई सचेत गराउनुभयो । ठुलाठुला चुनौतिको सामना गरेर आएको पृष्ठभूमि वर्तमान सरकारको रहेको भन्दै उहाँले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “मैले एक जनाले भनेको सुने । प्रधानमन्त्री लगलग लगलग कामेका छन् । अब जाने भो भनेर । पद नगएको मैले दुनियाँमा कोही देखेको छैन । सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु । ”

उहाँले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गर्नुभयो । लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हितविपरीत कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जनताको निराशा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फ पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ । यो सरकार अचानक एउटा हुईममा, जनताको निराशामाथि टेकेर बनेको सरकार होइन । तात्कालिन सेन्टिमेण्टको एउटा भल छोपेर बनेको सरकार होइन । अरुले ल्याएर दिएको लोकतन्त्रमा होइन । लोकतन्त्र ल्याउन लडेको हो । कोहीभन्दा कम त्याग तपस्या र बलिदानी गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन । यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटी र गलत कामबाट जनताको आलोचना खेप्नुपर्ने अवस्था सिर्जना गरेको छैन । अधिनायकवादतर्फ गयो भनेर जनतामा भ्रम फैलाउने प्रयास नगरे हुन्छ । ”

प्रधानमन्त्री ओलीले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्