Political Hightlights

स्कुल विभागको नेतृत्वका विषयमा कुरा नमिल्दा नेकपा सचिवालय बैठक बस्न सकेन

हिमालय टिभी
२०७६ साउन २९ गते ९:१६
स्कुल विभागको नेतृत्वका विषयमा कुरा नमिल्दा नेकपा सचिवालय बैठक बस्न सकेन

काठमाडौं । स्कूल विभागको नेतृत्वमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्न सकेन ।

नेताहरूको जिम्मेवारी टुंगो लगाउने गरी दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कार्यविभाजनमा सहमति नजुटेपछि भोलिका लागि सरेको छ । सहमति नभएकै कारण शीर्ष नेताले परामर्शका लागि समय चाहिएको भन्दै हिजोको बैठक आजका लागि सारेका थिए ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लगातार तीन दिन छलफल गरे पनि विभिन्न विभागमा नेतृत्वको विवाद यथावत छ । खास गरी स्कूल विभागको नेतृत्वमा सहमति हुन नसक्दा बैठक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन १३ गते सचिवालय बैठक बसेको थियो । ओली सिंगापुर र प्रचण्ड दुवई जाने भएपछि साउन २८ गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।

सिंगापुरबाट फर्केपछि अध्यक्ष ओलीले नेताहरुसँग भिन्दाभिन्दै भेटेर सहमतिको कोशिस गर्नुभएको छ । अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेतासँग परामर्श गर्नुभएको छ ।

अब बस्ने बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्नुहुनेछ । पौडेलले स्थायी र केन्द्रीय कमिटी सदस्यसँग तीन विकल्प सहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव लिएर प्रस्ताव तयार पार्नुभएको छ ।

स्थायी कमिटी सदस्यलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी छ । अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर र अध्यक्ष प्रचण्डको दुवई भ्रमणवारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्