Political Hightlights

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

हिमालय टिभी
२०७६ साउन १८ गते ६:५४
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा सात दिन बस्नुहुने कार्यक्रम छ । नियमित औषधि सेवनसँगै अनिँदो बस्न नहुने, न्यूनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझावकाबीच प्रधानमन्त्री ओली अत्याधीक व्यस्त हुनुहुन्थ्यो ।

व्यस्त कार्यसूचीका कारण ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि आज थप स्वास्थ्य परीक्षणको लागि सिंगापुर प्रस्थान गर्न लाग्नुभएको हो । एक साताअघि मात्र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको निगरानी गरिरहेका मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमीले ओलीको सुगरको मात्रा तलमाथि हुने गरेको बताउनुभयो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीको स्वास्थ्यमा थप जटिलता देखा परेकोले सिंगापुरमा परीक्षण गराउन लागिएको बताइएको छ । प्रधानमन्त्री ओली बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीको साथमा श्रीमती राधिका शाक्य, निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत ९ जना सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ साता स्वास्थ्य परीक्षण गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सात दिन सिंगापुरमा रहनुहुने प्रधानमन्त्रीलाई आराम गरेर बिताउन पनि चिकित्सकले सुझाव दिएका छन् ।

यसैबीच परिवारसहित दुबई जानुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्