Political Hightlights

सभामुख महराको प्रयास विफल, सर्वदलीय बैठक निष्कर्षविहीन

हिमालय टिभी
२०७६ साउन १६ गते ११:२२
सभामुख महराको प्रयास विफल, सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं । सर्वदलीय बैठकमा सहमति जुटाएर संसदको अवरोध हटाउने सभामुख कृष्णबहादुर महराको प्रयास असफल भएको छ ।

निकास खोज्दै सभामुख महराले डाकेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक २० गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक २० गते ११ बजेसम्मका लागि स्थगित भयो ।

सर्लाही घट्ना छानविन गर्न संसदीय समिति बनाउने कांग्रेस र राजपाको प्रस्ताव सत्तारुढ नेकपाले नमानेपछि सहमति हुन नसकेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राजपाले सर्लाही घट्नाका विषयमा संसदीय छानविन समिति गठन गर्ने वा नगर्ने विषयमा आफ्ना अडानमा कायम राखेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि पत्रकारसँग सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले छलफल जारी रहेको प्रतिक्रिया दिनुभयो ।

तर, प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानविन समिति बनाउने माग यथावत रहेको भन्दै आन्तरिक रुपमा पनि थप छलफलको आवश्यकता महशुस भएकाले संसद बैठक स्थगित गरिएको बताएको छ । अर्को विपक्षी दल राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको छ ।

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्लाही घट्नाका विषयमा संसदीय छानविन समिति बनाउनु लोकतान्त्रिक प्रक्रियानै हुने सुझाव दिएको बताउनुभयो

सर्वदलीय बैठकमा सहभागी उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वार्ताबाटै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।

सर्लाहीमा प्रहरीको कारवाहीमा मारिएका विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेल र बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्युपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सत्यनारायण महतोको मृत्यु भएको घटनाको विषयमा छानविन सर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । तर त्यसलाई नेकपाले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्