साउनभित्र एकताको काम सकेर भदौदेखि देशव्यापी अभियानः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउनभित्र एकताका काम सकेर भदौदेखि देशव्यापी अभियानमा जाने बताउनु भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीको नीतिबारे जानकारी गराउन र सरकारका कामलाई अझ प्रभावकारी बनाउन अभियान संचालन गर्ने गरिने बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलन विशिष्ट मोडमा रहेको भन्दै प्रचण्डले प्राप्त अवसरको सदुपयोग बुद्धिमता र विवेकसम्मत ढंगले गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको काँधमा आएको जिम्मेवारी नेतृत्वले इमान्दारीपूर्वक पुरा गरे मात्र संस्थापक नेताको सम्मान हुने बताउनुभयो ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आचरण र कामको समीक्षा गरेर सुधार गर्नुपर्ने नेता नेपालको भनाइ छ ।
नेता नेपालले पार्टी एकतालाई लिएर अनेक शंका उपशंका भए पनि एक ढिक्का भएर अघि बढ्नेमा ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया